काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य गिरावटसँगै बन्द भएको छ। नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगेको हो। यसअघि सोमबार पनि परिसूचक १२.२६ अंकले घटेको थियो।

मंगलबार ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको १८ करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड रुपैयाँ, रावा इनर्जी डेभलपमेन्टको १३ करोड रुपैयाँ तथा बुंगल हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

क्षेत्रगत सूचकतर्फ म्युचुअल फन्ड र ट्रेडिङ समूहमा मात्रै वृद्धि देखिएको छ। बाँकी अधिकांश समूहका उपसूचकहरू भने नकारात्मक रहे, जसले समग्र बजारमा दबाब कायम रहेको संकेत गरेको छ।