काठमाडौं। विशेष अदालतले राहदानी छपाइमा अनियमितता तथा भ्रष्टाचारको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी दुवै अभियुक्तविरुद्ध चार दिनको म्याद थप गरेको हो।
राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा पक्राउ परेका अर्याल र केसीमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै अख्तियारले म्याद थपका लागि विशेष अदालतमा निवेदन दर्ता गरेको थियो।
अदालतले अख्तियारको मागलाई स्वीकार गर्दै अनुसन्धानलाई निरन्तरता दिन चार दिनको म्याद प्रदान गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।
अख्तियारले राहदानी छपाइसँग सम्बन्धित प्रक्रियामा भएको भनिएको अनियमितताबारे थप प्रमाण संकलन र बयान लिने कार्य जारी राखेको जनाएको छ।

