काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ मा घानाले पानामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ।

क्यानडाको टोरन्टो स्टेडियममा भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीतर्फ उन्मुख देखिएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा घानाले निर्णायक गोल गर्दै रोमाञ्चक जित निकालेको हो।

खेलको ९०+५ औँ मिनेटमा ब्रान्डन थोमस-असान्टेको पासमा क्लेभिन यिरेन्कीले उत्कृष्ट फिनिसिङ गर्दै घानालाई अग्रता दिलाए। अन्तिम समयमा भएको यही गोल घानाको जितका लागि पर्याप्त बन्यो।

यसअघि दोस्रो हाफमा घानाले लगातार आक्रमण गर्दै पानामामाथि दबाब बनाएको थियो। थोमस-असान्टेले गोल गर्ने राम्रो अवसर पाए पनि पानामाका गोलरक्षक ओर्लान्डो मोस्केराले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि रेफ्रीले अफसाइडको संकेत दिएका थिए।

पहिलो हाफमा दुवै टोलीले सावधानीपूर्ण खेल प्रस्तुत गरेका थिए भने दोस्रो हाफमा घाना थप आक्रामक देखिएको थियो। लगातारको प्रयासपछि इन्जुरी समयमा गोल निकाल्दै अफ्रिकी टोलीले महत्वपूर्ण सफलता हात पारेको हो।

यस नतिजासँगै घानाले समूह ‘एल’ मा विजयी सुरुआत गर्दै तीन अंक जोडेको छ। अन्तिम समयमा गोल व्यहोरेपछि पानामा भने अंकविहीन रहँदै निराश बनेको छ।