काठमाडौं– संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। सम्झौतासँगै कच्चा तेलको मूल्य घटेको छ भने विश्वका प्रमुख सेयर बजारमा उल्लेख्य सुधार आएको छ।
केही दिनयता अमेरिका र इरानबीचको तनावका कारण अस्थिर बनेको विश्व बजार शान्ति समझदारीपछि पुनः स्थिर बन्दै गएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमति उल्लङ्घन गरेमा पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका भए पनि सम्झौताले लगानीकर्तामा आशा जगाएको छ।
बिहीबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.६ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.२३ अमेरिकी डलरमा झरेको छ। बुधबार ट्रम्पको अभिव्यक्तिपछि तेलको मूल्य ८१ डलरभन्दा माथि पुगेको थियो।
ऊर्जा आपूर्ति प्रणालीमा देखिएको अवरोध हट्ने अपेक्षासँगै एसियाली सेयर बजारमा पनि हरियाली छाएको छ। जापानको निक्केई–२२५ सूचक १.८ प्रतिशतले बढ्दा दक्षिण कोरियाको कोस्पी १.४ प्रतिशतले उकालो लागेको छ। ताइवानको टाइएक्स सूचक १.३ प्रतिशतले बढेको छ भने हङकङको ह्याङसेङ सूचक भने १.७ प्रतिशतले घटेको छ। अमेरिकी फ्युचर्स बजारमा पनि सकारात्मक संकेत देखिएको छ।
वासिङ्टन र तेहरानबीचको वार्तामा मध्यस्थताको भूमिका खेलेका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका–इरानबीच भएको समझदारी तत्काल कार्यान्वयनमा आएको बताएका छन्। उनका अनुसार इरानले रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनेछ भने अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको छ।
विश्लेषकहरूले अमेरिका–इरान सम्बन्धमा आएको सुधारले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र ऊर्जा बजारमा स्थायित्व ल्याउने अपेक्षा गरेका छन्।

