काठमाडौं । गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयको बजेट सम्बन्धी वक्तव्यमा भएको त्रुटि सच्याएको छ। बजेट भाषणमा २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख भए पनि वास्तविक बजेट ९२ करोड ४९ लाख रुपैयाँ रहेको जानकारी प्रदेश सभालाई दिइएको छ।
अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभामा वक्तव्यको बुँदा नम्बर ५६ मा रकम उल्लेख गर्दा त्रुटि भएको स्वीकार गर्दै वास्तविक रकम ९२ करोड ४९ लाख रुपैयाँ रहेको स्पष्ट पारे। उनले मन्त्रालयको तर्फबाट भएको गल्तीप्रति क्षमायाचना समेत गरेका छन्।
असार १ गते सार्वजनिक गरिएको बजेट वक्तव्यमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ छुट्याइएको उल्लेख थियो। तर मन्त्रालयगत बजेट विवरण र रातो किताबमा समावेश रकमसँग मेल नखाएपछि विषयबारे प्रश्न उठेको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सम्बन्धित मन्त्रीहरूबीच भएको छलफलपछि बजेट वक्तव्य संशोधन गर्नुभन्दा संसदलाई वास्तविक तथ्य जानकारी गराउने निर्णय गरिएको थियो।
सच्याइएको बजेटअनुसार उद्योग तथा पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार विकास, पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटनको विस्तार, होमस्टे तथा ग्रामीण पर्यटन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। साथै पर्यटनसँग सम्बन्धित सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा निजी क्षेत्रसँगको सहकार्यमा गन्तव्य व्यवस्थापनका कार्यक्रम पनि समावेश गरिएको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ। प्रारम्भिक वक्तव्यमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएपछि उत्पन्न अन्योल अन्ततः सरकार स्वयंले त्रुटि स्वीकार गर्दै स्पष्ट पारेको हो।

