काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद पठाएको छ।
अख्तियार स्रोतका अनुसार अनुसन्धानको सिलसिलामा डा. राणाको नाममा रीतपूर्वक म्याद तामेल गरिएको हो। उनी विदेशमा रहेको र प्रत्यक्ष सम्पर्कमा नरहेको जानकारीपछि आयोगको टोली बूढानीलकण्ठस्थित निवासमा पुगेर स्थानीय वडाका प्रतिनिधिको रोहबरमा म्याद टाँसेर फर्किएको जनाएको छ।
स्रोतका अनुसार म्याद तामेलीका क्रममा देउवा परिवारका सदस्य भने उपस्थित थिएनन्। आयोगले पासपोर्ट छपाइ ठेक्का प्रक्रियामा डा. राणाको सम्भावित संलग्नताबारे परेको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाएको हो।
ई–पासपोर्ट खरिदसँग सम्बन्धित ठेक्का प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले सम्बन्धित कागजात संकलन तथा जिम्मेवार व्यक्तिहरूसँग बयान लिने प्रक्रिया सुरु गरेको जनाएको छ।
यसअघि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी तथा विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्न विशेष अदालतबाट थुनामा राख्ने अनुमति समेत प्राप्त भइसकेको छ।
अख्तियारले ई–पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित सम्पूर्ण पक्षको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

