काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट चयन भएका तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ।
महाधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ। बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गरिनेछ। विधान मस्यौदा पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ।
महाधिवेशनलाई लक्षित गर्दै पार्टीले देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा गरिसकेको जनाएको छ। आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालनलगायत आवश्यक व्यवस्थापनका काम पनि सम्पन्न भइसकेको रास्वपाले जनाएको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन गर्दै केन्द्रीय समितिको आकार १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरेको छ। संशोधित व्यवस्थाअनुसार पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिने भएको छ। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला रहने व्यवस्था गरिएको छ।
यस्तै, १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुने र बाँकी ५१ जना पार्टी सभापतिले समावेशिताका आधारमा मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
पार्टी नेतृत्वका अनुसार महाधिवेशनले संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्रमुख प्राथमिकतामा राखेको छ। साथै, विधान संशोधन, नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाका अनुसार हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया पूरा भएको छ। छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट सम्पन्न भइसकेको र बाँकी जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको पार्टीले जनाएको छ।

