काठमाडौँ । डेनिज उन्दाभको इन्जुरी समयमा आएको निर्णायक गोलको मद्दतमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

समूह ‘ई’ अन्तर्गत शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता आइभोरी कोस्टले लिए पनि जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित हात पार्यो। दुई खेलबाट ६ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो हाफमा जर्मनीका केही आक्रमण सफल हुन नसक्दा आइभोरी कोस्टले अवसरको सदुपयोग गर्दै अग्रता बनाएको थियो। यान डियोमान्डेको क्रसमा अमाद डियालोको प्रयासपछि आएको रिबाउन्ड बललाई फ्रान्कले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरिरहेको जर्मनीका लागि ६८औँ मिनेटमा वैकल्पिक खेलाडी डेनिज उन्दाभले शानदार भली प्रहारमार्फत बराबरी गोल गरे। खेल १–१ को अवस्थामा पुगेपछि दुवै टोलीले जितका लागि आक्रामक खेल प्रदर्शन गरेका थिए।

निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयमा उन्दाभले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अर्को गोल थपे र जर्मनीलाई महत्वपूर्ण जित दिलाए। उनको पछिल्ला आठ खेलमा यो नवौं गोल हो।

खेलमा जर्मनीका दुई गोल रेफ्रीले अमान्य घोषित गरेका थिए। पहिलो हाफमा अलेक्जेन्डर पाभ्लोभिचको हेडर तथा दोस्रो हाफमा जमाल मुसियालाको गोल फाउलको कारण देखाउँदै रद्द गरिएको थियो।

पराजित आइभोरी कोस्टको दुई खेलबाट ३ अंक रहेको छ। समूह चरणको अन्तिम खेलमा जर्मनीले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ भने आइभोरी कोस्टले कुरासाओसँग खेल्ने तालिका रहेको छ।