काठमाडौं । आज जुन २१ का दिन यस वर्षकै सबैभन्दा लामो दिन परेको छ। पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको प्रकाश सबैभन्दा लामो समयसम्म पर्ने भएकाले आजको दिनलाई वर्षकै सबैभन्दा लामो दिनका रूपमा लिइन्छ। खगोल विज्ञानमा यस घटनालाई ‘समर सोल्स्टिस’ भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको थियो भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ। यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ५४ मिनेट रहनेछ, जुन वर्षका अन्य दिनहरूको तुलनामा सबैभन्दा लामो हो।
समर सोल्स्टिसपछि भोलिदेखि दिनको अवधि बिस्तारै घट्दै जाने र रातको समय बढ्दै जाने खगोलविद्हरू बताउँछन्। यो क्रम आगामी डिसेम्बर २१ सम्म जारी रहनेछ, जुन दिन वर्षकै सबैभन्दा छोटो दिन मानिन्छ।
पृथ्वी आफ्नो अक्षमा करिब २३.५ डिग्री झुकेको अवस्थाका कारण यस्तो मौसमी परिवर्तन हुने गर्छ। उत्तरी गोलार्द्धमा जुन महिनामा सूर्यको किरण बढी समयसम्म पर्ने हुँदा दिन लामो र दक्षिणी गोलार्द्धमा भने रात लामो हुने गर्दछ।

