काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कुनै शंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले असल नेतृत्वका लागि कुनै गुट वा समूहको सहारा आवश्यक नपर्ने, जनताको विश्वास जित्नु नै सबैभन्दा महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
प्रधानमन्त्री शाहले पार्टीभित्र गुट–उपगुटको राजनीति नरहेको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले संगठनलाई थप मजबुत बनाउँदै मुलुकको समृद्धिका लागि साझा रूपमा काम गर्नुपर्नेमा जोड दिए।
उनले वर्षौँदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्या तथा पछिल्लो समय जटिल बन्दै गएको सहकारी क्षेत्रको समस्या आफ्नो कार्यकालभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा हुने सकारात्मक र उदाहरणीय कामहरू रास्वपाकै नेतृत्वमा अघि बढ्ने विश्वास समेत उनले व्यक्त गरे।
प्रधानमन्त्री शाहले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू जिम्मेवार र सक्षम रहेको उल्लेख गर्दै महाधिवेशनपछि राष्ट्र निर्माण र जनहितका काममा केन्द्रित हुन प्रतिनिधिहरूलाई आह्वान गरे। साथै, महाधिवेशनको अवधिमा पार्टीको आन्तरिक सुदृढीकरण, नीति निर्माण र भावी कार्यदिशाबारे गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याए।

