काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास प्रशोधन प्लान्टमा भएको शक्तिशाली विस्फोटपछि आगलागी हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना सम्पर्कविहीन भएका छन्।

कतारी अधिकारीहरूका अनुसार विस्फोटपछि प्लान्टमा आगो फैलिएको थियो। घटनालगत्तै आपतकालीन उद्धार टोली परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको उपचार भइरहेको र सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको उल्लेख गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको कारण प्राविधिक समस्या रहेको बताइएको छ।

अधिकारीहरूले विस्फोटपछि कुनै प्रकारको ग्यास चुहावट नभएको र सार्वजनिक सुरक्षामा थप जोखिम नरहेको स्पष्ट पारेका छन्। बेपत्ता व्यक्तिहरूको खोजीका लागि कतार इन्टरनेशनल सर्च एन्ड रेस्क्यू ग्रुपले नागरिक रक्षा टोलीसँग समन्वय गरेर काम गरिरहेको छ।

घटनाले कतारको ऊर्जा पूर्वाधारमा परेको प्रभावबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, राजधानी दोहासम्म विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अधिकारीहरूले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।