काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टबाट तत्काल हटाउने निर्णय नगरी यथावत् राखेको छ। पेरिसमा जुन १९ मा सम्पन्न बैठकले नेपालले आवश्यक सुधारका कार्यहरू पूर्ण रूपमा कार्यान्वयन नगरेको निष्कर्ष निकाल्दै ग्रे लिस्टको अवस्थालाई निरन्तरता दिएको हो।
एफएटीएफले नेपालले यसअघि व्यक्त गरेको उच्चस्तरीय राजनीतिक प्रतिबद्धताका बाबजुद रणनीतिक कमजोरीहरू समाधानमा अपेक्षित प्रगति नदेखिएको जनाएको छ। संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग रोक्न आवश्यक मापदण्डहरू प्रभावकारी रूपमा लागू गर्न नेपाललाई आग्रह गरेको छ।
एफएटीएफले नेपालका लागि सात बुँदे कार्ययोजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यसअन्तर्गत सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको मूल्यांकन सुधार, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी, क्यासिनो र घरजग्गा क्षेत्रमा जोखिममा आधारित निगरानी प्रभावकारी बनाउने, अवैध हुन्डी कारोबारको पहिचान र नियन्त्रण गर्ने लगायतका विषय समेटिएका छन्।
यसका साथै अनुसन्धान निकायहरूको क्षमता अभिवृद्धि, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउने तथा अपराधबाट आर्जित सम्पत्तिको पहिचान, रोक्का, जफत र व्यवस्थापनमा थप प्रगति देखाउनुपर्ने उल्लेख गरिएको छ।
एफएटीएफको निर्णयसँगै नेपालले आगामी अवधिमा तोकिएका सुधारका कार्यक्रम कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेपछि मात्रै ग्रे लिस्टबाट बाहिरिने सम्भावना रहने देखिएको छ।

