काठमाडौं । ई–पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासँग जोडिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। यसअघि अनुसन्धानका क्रममा असार २ गते अर्याललाई पक्राउ गरिएको थियो भने त्यसको भोलिपल्ट जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिइएको थियो।

राहदानी छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले लामो समयदेखि अनुसन्धान अघि बढाइरहेको थियो। अनुसन्धान पूरा भएपछि विभिन्न व्यक्ति तथा सम्बन्धित पक्षलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आयोगले मुद्दासम्बन्धी विस्तृत विवरण, बिगो रकम र सजाय मागदाबीबारे थप जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। प्रकरणसँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धानको दायरा खुला राखिएको बताइएको छ।