काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा प्रहरीले उनलाई सुर्खेतबाट नियन्त्रणमा लिएको हो।
पौडेल सुर्खेतमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका थिए। विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउपछि केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएका पौडेललाई थप अनुसन्धानका लागि नेपालगञ्ज लगिएको छ। नेपालगञ्जबाट उनलाई काठमाडौं ल्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
पक्राउको कारणबारे सम्पत्ति शुद्धीकरण विभागले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।

