काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको एक ग्यास प्रशोधन प्लान्टमा भीषण विस्फोट भएको छ। उक्त दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने नेपालीसहित ६६ जना घाइते भएका छन्।
कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार, बरजान ग्यास आपूर्ति सुविधा सञ्चालन सुरु गर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको थियो।
१२ भारतीय नागरिकको मृत्यु, ६६ घाइते
टाइम्स अफ इन्डियाका अनुसार मृत्यु हुने १३ जनामध्ये १२ जना भारतीय नागरिक रहेका छन्। अर्का एक मृतकको पहिचान खुलाइएको छैन।
यस्तै, स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटमा परी ६६ जना कामदार घाइते भएका छन्। घाइते हुनेहरूमा नेपाल, भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या नाइजेरिया लगायतका देशका नागरिकहरू रहेका छन्। घाइते नेपालीहरूको संख्या र उनीहरूको विस्तृत विवरण भने अझै आउन बाँकी छ।
घाइतेहरूको अवस्था सामान्य
विस्फोट लगत्तै घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। राहतको कुरा, उपचाररत ६६ जना घाइतेहरूमध्ये कसैको पनि ज्यान जोखिममा नरहेको र अवस्था नियन्त्रणमा रहेको कतारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनाको कारणबारे कतार इनर्जी र स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको बताइएको छ।

