काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पुरानै शैली र सोचले नयाँ परिणाम दिन नसक्ने बताएका हुन्।
लामिछानेले पार्टीभित्र विभाजनकारी गतिविधि बढे रास्वपाले पनि अन्य दलहरूले जस्तै नतिजा भोग्नुपर्ने चेतावनी दिए। फरक परिणाम प्राप्त गर्न फरक सोच र व्यवहार आवश्यक रहेको उनको भनाइ थियो।
उनले केही प्रतिनिधि गलत उद्देश्यसहित प्रभावित भएर आएको हुन सक्ने आशंका पनि व्यक्त गरे। कसैको सहयोगमा प्रतिनिधि बनेर आएको भए पनि मतदान गर्दा योग्य र सक्षम व्यक्तिलाई रोज्न उनले आग्रह गरे।
सभापति लामिछानेले आफू कुनै उम्मेदवारको पक्षमा नरहेको दाबी गर्दै केन्द्रीय समितिका सदस्यहरू विवेकपूर्ण ढंगले चयन गर्न प्रतिनिधिहरूलाई अनुरोध गरे। पार्टीभित्र गलत प्रवृत्तिको सानो बीउसमेत रोपिन नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
साथै, विभिन्न अफवाह र कसैको प्रभावमा परेर मतदान नगर्न आग्रह गर्दै उनले भने, “कसलाई भोट हाल्ने भन्ने निर्णय व्यक्तिगत विषय हो, तर अमुकलाई भोट दिनु वा नदिनु भनेर निर्देशन दिने व्यक्ति रास्वपाको प्रतिनिधित्व गर्दैन।”

