चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेपछि सम्बन्धित विवरण तथा तस्बिरहरू भोटिङ मेसिनमा समावेश गरी मतदान प्रक्रिया सुरु गरिनेछ।
निर्वाचन समितिले मध्याह्नदेखि पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्यसहित अन्तिम तयारी पूरा गरेको जनाएको छ। मतदाताहरूलाई मतदान प्रक्रियाबारे जानकारी दिन तथा अभ्यास गराउन ‘मक भोटिङ’का लागि छुट्टै पाँच वटा उपकरणसमेत व्यवस्था गरिएको छ।
महाधिवेशनमा खुला तथा विभिन्न समावेशी क्लस्टरअन्तर्गत ४०० भन्दा बढी आकांक्षीले उम्मेदवारी दिएका छन्। क्लस्टरगत प्रतिनिधित्वका कारण मतदाताले उम्मेदवार छनोट गर्न केही बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
यस चरणको निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। विद्युतीय प्रणालीमार्फत मतदान हुने भएकाले मतगणना प्रक्रिया छिटो सम्पन्न हुने र मतदान सकिएको करिब दुई घण्टाभित्र आधिकारिक नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाले पहिलोपटक अपनाएको विद्युतीय मतदान प्रणालीले निर्वाचनलाई थप पारदर्शी, विश्वसनीय र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

