काठमाडौं – भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। हालसम्म २३५ जनाको मृत्यु पुष्टि भएको छ भने चार हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प आएपछि सयौँ भवन भत्किएका छन्। अझै २०० भन्दा बढी मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ भने ३९ हजारभन्दा बढी मानिस सम्पर्कविहीन भएकाले उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।
सबैभन्दा बढी क्षति ला गुएरा तटीय क्षेत्रमा पुगेको छ। त्यहाँका दर्जनौँ भवन ढलेका छन् र मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि सबै उडान स्थगित गरिएको छ। यसले राहत सामग्री र उद्धार टोली परिचालनमा कठिनाइ सिर्जना गरेको छ।
भूकम्पपछि धेरै क्षेत्रमा विद्युत्, मोबाइल सेवा, ग्यास आपूर्ति र सार्वजनिक यातायात प्रभावित भएको छ। सरकारले विद्यालयहरू बन्द गरी अस्थायी राहत शिविरका रूपमा प्रयोग गर्न थालेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाइएको जनाएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ला गुएरालाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्दै सबै सरकारी निकायलाई उद्धार कार्यमा केन्द्रित हुन निर्देशन दिएकी छन्।
यसैबीच अमेरिका, ब्राजिल, क्यानडा, मेक्सिको, स्पेन, पोर्चुगल, कतारलगायत विभिन्न देशले उद्धार टोली, स्वास्थ्यकर्मी, राहत सामग्री, ड्रोन र अन्य आवश्यक उपकरण उपलब्ध गराउने घोषणा गरेका छन्। अमेरिकाले राहत कार्यलाई सहज बनाउन भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गर्ने निर्णय पनि गरेको छ।