
काठमाडौ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढेको छ। केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेसँगै विभिन्न पदमा प्रतिस्पर्धा रोचक बनेको छ।
खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा भने सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले आफ्नो नाम फिर्ता लिएकी छन्।
महामन्त्री पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्। उक्त पदमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।
खुला सह-महामन्त्रीका दुई पदका लागि ११ जनाबीच प्रतिस्पर्धा हुनेछ। उम्मेदवारमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त रहेका छन्।
महिला सह-महामन्त्रीको एक पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले विधानअनुसार दाबी–विरोध, छानबिन र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिने जानकारी दिए। त्यसपछि बन्दसत्रमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।
