काठमाडौं — काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेको छ। पछिल्लो तीन महिनामा ११ जिल्लाका १०० भन्दा बढी कुखुरा फार्ममा संक्रमण पुष्टि भइसकेको छ भने संक्रमण थप फैलिन नदिन संक्रमित फार्मका कुखुरा, अण्डा र दाना नष्ट गर्ने कार्य जारी छ।
पशुसेवा विभागका अनुसार काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायक क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएकाले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा विशेष निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरिएको छ। प्राविधिक टोली परिचालन, नियमित नमूना परीक्षण र अनुगमनलाई तीव्र बनाइएको विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लुविरुद्ध प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित पन्छी नष्ट गर्नु नै हालको सबैभन्दा प्रभावकारी उपाय रहेको बताए। उनले यो भाइरस मानिसमा पनि सर्न सक्ने सम्भावना भएकाले किसान, व्यवसायी र उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
संक्रमणको शृंखला तोड्न विभागले आगामी डेढ महिनासम्म कुखुरा फार्ममा नयाँ चल्ला नराख्न किसानलाई अनुरोध गरेको छ। साथै, केन्द्रमा महानिर्देशकको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु समन्वय समिति गठन गरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ।
यता, संक्रमणका कारण क्षति बेहोरेका किसानलाई राहत दिन सरकारले नष्ट गरिएका पन्छी, अण्डा र दानाको लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ। क्षतिपूर्तिको दर भने जिल्लास्तरीय समन्वय समितिले प्रमाणका आधारमा निर्धारण गर्नेछ।
स्वास्थ्य र कृषि क्षेत्र दुवैका लागि चुनौती बनेको बर्डफ्लु नियन्त्रणमा सबै पक्षको सतर्कता र सहकार्य आवश्यक रहेको विभागले जनाएको छ।

