काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले प्रस्तुत गरेको विधेयक पारित भएको हो।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने र पुँजीगत खर्च न्यून रहने विगतको प्रवृत्तिमा सुधार ल्याइने बताएका छन्। सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै उनले त्यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन सुरु हुने दाबी गरे।

उनले सरकारले लगाएको कर प्रणालीले न्यून आय भएका नागरिकलाई अतिरिक्त भार नपर्ने स्पष्ट पार्दै कर नीतिलाई सामाजिक न्यायको सिद्धान्तअनुसार अघि बढाइएको बताए।

अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिए। समितिको प्रतिवेदनका आधारमा आवश्यक नीतिगत निर्णय गरिने उनको भनाइ थियो।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत मुख्यतः आन्तरिक राजस्वबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा असहज अवस्था सिर्जना भए आकस्मिक व्यवस्थामार्फत आवश्यक स्रोत जुटाइने बताए।

राइड सेयरिङ सेवाको कारोबार उल्लेखनीय रूपमा बढेकाले त्यस क्षेत्रलाई पनि करको दायरामा ल्याउन सरकारले आवश्यक नीतिगत तयारी गरिरहेको जानकारी अर्थमन्त्री वाग्लेले दिए।

आर्थिक विधेयकमाथि सांसदहरूले दर्ता गराएका केही संशोधन प्रस्ताव फिर्ता लिइएका छन् भने अधिकांश संशोधन अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने स्वीकार गरी विधेयकमा समावेश गरिएको छ।