काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारकै गलत निर्णयका कारण असर परेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद घिमिरेले शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले त्रुटिपूर्ण निर्णय गर्दा हजारौं विद्यार्थी अन्यायमा परेको दाबी गरे। उनले सरकारको निर्णयका कारण विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।
सभाध्यक्षमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै घिमिरेले शिक्षामन्त्रीको भूमिकामाथि छानबिन गरी आवश्यक कारबाही गरिने वा नगर्नेबारे स्पष्ट जवाफ दिन माग गरे।
उनले विद्यार्थीको भविष्यसँग जोडिएका विषयमा लापरवाही गर्न नहुने उल्लेख गर्दै शिक्षा क्षेत्रका निर्णयहरू जिम्मेवार र पारदर्शी ढंगले लिन सरकारलाई आग्रह गरे। साथै, यस्ता त्रुटि दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा पनि उनले जोड दिए।

