काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू नयाँ राजनीतिक दल गठनको तयारीमा रहेको भन्ने प्रचारलाई असत्य र भ्रामक बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे।
खनालले आफूले कहिल्यै गुटबन्दी नगरेको उल्लेख गर्दै अहिले आवश्यक रहेको कुरा नयाँ पार्टी नभई समाजवादी विचारलाई अघि बढाउने वैचारिक समूह भएको बताए। सही नीति, विचार र सिद्धान्तका आधारमा वामपन्थी शक्तिबीच एकता हुनुपर्ने उनको धारणा थियो।
‘बिहान मात्र झलनाथले अर्कै पार्टी खोल्दैछन् भनेर कुप्रचार गरिएछ। म ती साथीहरूलाई भन्न चाहन्छु, झलनाथ कुनै गुट बनाएर बसेको मान्छे होइन। पार्टी विभाजन होइन, समाजवादी विचार समूह बनाउन आवश्यक छ। सही नीति, विचार र सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ,’ उनले भने।
खनालले वर्तमान लोकतान्त्रिक व्यवस्थाप्रति पनि असन्तुष्टि जनाउँदै अहिलेको लोकतन्त्र पुँजीपति वर्गले जनतालाई झुक्याउने माध्यमका रूपमा विकास भएको आरोप लगाए। वामपन्थी शक्तिहरूले भने समाजवादी लोकतन्त्र स्थापनाको लक्ष्य लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले समाजवादमा आधारित वैचारिक बहस र राजनीतिक एकतामार्फत मुलुकलाई नयाँ दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याए।

