काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अनुसन्धान जारी राख्न विशेष अदालतले थप ६ दिनको म्याद दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अझै पूरा नभएको जनाउँदै बिहीबार विशेष अदालतसँग म्याद थपको माग गरेको थियो। विशेष अदालतका न्यायाधीश हेमन्त रावलसहितको इजलासले विभागको माग स्वीकार गर्दै पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक ६ दिनको अनुमति दिएको हो।

यसअघि अदालतले पहिलोपटक ७ दिन र दोस्रोपटक ३ दिनको म्याद दिएको थियो। पछिल्लो आदेशसँगै पौडेलमाथिको अनुसन्धान थप अघि बढ्ने भएको छ।

विभागले विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको सेयर कारोबार, पौडेलको सम्पत्तिको स्रोत तथा आर्थिक कारोबारबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा अख्तियारको दुरुपयोग तथा पदको प्रभाव प्रयोग गरी भट्टको इक्विटी खरिद प्रक्रियामा सहयोग पुर्‍याएको आशंकामाथि पनि छानबिन भइरहेको छ।

गत असार ८ गते सुर्खेतमा पार्टी कार्यक्रममा सहभागी भएका बेला विभागको टोलीले पौडेललाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलमाथि भइरहेको अनुसन्धान निष्कर्षमा नपुगेसम्म हिरासतमा राखी थप प्रमाण संकलन गरिने विभागको तयारी रहेको छ।