काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर २ प्रतिशतले घटाइएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै नेपाल आयल निगमले असार १७ गतेदेखि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४२ रुपैयाँले घटाएपछि स्वचालित वैज्ञानिक भाडा निर्धारण प्रणालीअनुसार नयाँ भाडादर लागू गरिएको जनाएको हो। संशोधित भाडादर आजैदेखि देशभरका राष्ट्रिय रुटमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा लागू हुनेछ।
विभागका अनुसार यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडादर पुनः समायोजन गरिएको हो।
यसअघि वैशाख १२ गते इन्धनको मूल्य बढेपछि सार्वजनिक तथा मालवाहक सवारीको भाडा ५ प्रतिशतले वृद्धि गरिएको थियो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य घटेसँगै विभागले २ प्रतिशत भाडा घटाएको जानकारी दिए।
विभागका अनुसार नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय रुटका सवारीसाधनमा मात्र लागू हुनेछ। एउटै प्रदेशभित्र सञ्चालन हुने तथा स्थानीय रुटका सवारीको भाडा भने सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले आवश्यक निर्णयमार्फत समायोजन गर्ने व्यवस्था रहेको छ।

