काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो, प्रभावकारी र सर्वसुलभ बनाउन बीमित सेवाग्राही, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जिम्मेवार ढंगले सेवा उपयोग गर्न आग्रह गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत बोर्डले बीमितलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचार गर्न दबाब नदिन अनुरोध गरेको हो। बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दीर्घकालीन सफलताका लागि सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको जनाएको छ।
बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौँ नागरिकले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा पाइरहेका छन्। यसले बिरामीले आफ्नै गोजीबाट व्यहोर्नुपर्ने उपचार खर्च घटाएर वित्तीय जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बोर्डको दाबी छ।
बोर्डले चालु आर्थिक वर्षमा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल रु. २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ दाबी भुक्तानी गरेको जनाएको छ। यससँगै २०८२ साल मंसिर मसान्तसम्म का सबै दाबी बक्यौता पूर्ण रूपमा फरफारक गरिएको बोर्डले स्पष्ट पारेको छ।
विगत केही समयदेखि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले समयमै दाबी भुक्तानी नपाएको स्वीकार गर्दै बोर्डले त्यसबाट सेवा प्रदायक संस्था र बीमित दुवै प्रभावित भएको जनाएको छ।
मंसिरपछिका बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बोर्डको भनाइ छ।
भुक्तानी प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित नागरिकको उपचारमा कुनै अवरोध नआउने गरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

