काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को रोमाञ्चक र तनावपूर्ण खेलमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मेक्सिको सिटी स्टेडियममा भएको खेलको अन्तिम समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफ इङ्गल्यान्डको पक्षमा रह्यो । ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै (३८औँ मिनेटमा) कप्तान ह्यारी केनको पासमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढेको थियो । तर, ४२औँ मिनेटमा मेक्सिकोका जे. क्विनोनेसले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ को स्थितिमा ल्याए ।