काठमाडौं – सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ। यस वर्ष पनि विश्वकै शक्तिशाली पासपोर्टहरूको सूचीमा युरोपेली देशहरूको वर्चस्व कायम रहँदा स्वीडेन पहिलो स्थानमा उक्लिएको छ। नेपालको पासपोर्ट भने गत वर्षको तुलनामा एक स्थान तल झर्दै १६४औँ स्थानमा पुगेको छ।

रेसिडेन्सी एन्ड सिटिजनसिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको प्रतिवेदनले परम्परागत भिसा–फ्री यात्रालाई मात्र नभई भ्रमण स्वतन्त्रता, लगानीका अवसर र जीवनस्तर गरी १४ सूचकका आधारमा पासपोर्टको मूल्यांकन गरेको जनाएको छ।

प्रतिवेदनअनुसार नेपाली पासपोर्टधारीले १० देशमा बिनाभिसा वा आगमनमा भिसा (Visa on Arrival) को सुविधा पाउँछन् भने १०७ भन्दा बढी गन्तव्यका लागि पूर्वभिसा अनिवार्य छ। भारत, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स र पाकिस्तानलगायत देशमा नेपाली नागरिकलाई तुलनात्मक रूपमा सहज यात्रा सुविधा उपलब्ध छ।

दक्षिण एसियामा भारत १२५औँ, चीन १०४औँ, श्रीलंका १४१औँ, पाकिस्तान १८८औँ र अफगानिस्तान १९७औँ (अन्तिम) स्थानमा रहेका छन्।

यस वर्षका शीर्ष १० शक्तिशाली पासपोर्ट भएका देशमा क्रमशः स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, आयरल्यान्ड, बेलायत, नर्वे र सिंगापुर परेका छन्। विश्वका प्रभावशाली मानिने अमेरिका र फ्रान्स भने ११औँ स्थानमा सीमित भएका छन्।

प्रतिवेदनले पासपोर्टलाई केवल यात्रा दस्तावेजका रूपमा नभई विश्वव्यापी अवसर, बसाइँसराइ र आर्थिक सम्भावनाको सूचक का रूपमा समेत मूल्यांकन गरेको जनाएको छ।