The Dalai Lama gestures before speaking to students during a talk at Mumbai University February 18, 2011. REUTERS/Danish Siddiqui (INDIA - Tags: EDUCATION RELIGION) - RTR2IRAI
काठमाडौं – नेपालमा बसोबास गर्ने तिब्बती समुदायले आफ्ना आध्यात्मिक गुरु दलाई लामाको ९१औँ जन्मदिन सोमबार विभिन्न धार्मिक कार्यक्रम गरी मनाएका छन्।
काठमाडौंमा आयोजित विशेष समारोहमा तिब्बती समुदायले दलाई लामाको तस्बिरमा पूजाअर्चना गर्दै उनको दीर्घायु, स्वास्थ्य र विश्वशान्तिको कामना गरेका थिए। कार्यक्रममा नेपालस्थित विभिन्न देशका कूटनीतिक प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
यस अवसरमा काठमाडौंसहित देशका विभिन्न बौद्ध गुम्बाहरूमा पनि प्रार्थना, पूजा तथा विशेष धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ। विश्वभर रहेका तिब्बती समुदायले हरेक वर्ष जुलाई ६ मा दलाई लामाको जन्मदिन श्रद्धापूर्वक मनाउने परम्परा रहेको छ।
सन् १९३५ जुलाई ६ मा तिब्बतको आम्दो क्षेत्रको ताक्सेर गाउँमा जन्मिएका दलाई लामाको बाल्यकालको नाम ल्हामो थोन्दुप थियो। दुई वर्षको उमेरमै उनी १३औँ दलाई लामाको पुनर्जन्मका रूपमा चिनिएका थिए।
सन् १९५९ मा तिब्बतमा भएको विद्रोहपछि भारत पुगेका दलाई लामा अहिले हिमाचल प्रदेशको धर्मशालामा निर्वासनमा बस्दै आएका छन्। उनले निर्वासनबाटै तिब्बती भाषा, संस्कृति र धार्मिक पहिचानको संरक्षण गर्दै शान्ति, अहिंसा र संवादमार्फत तिब्बत समस्याको समाधान हुनुपर्ने धारणा निरन्तर व्यक्त गर्दै आएका छन्।