काठमाडौं । स्थानीय सरकारको सक्रियता, किसानको मेहनत र उपभोक्ताको विश्वासले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका देशभरका स्थानीय तहका लागि उदाहरणीय बनेको छ। गाउँपालिकाले सञ्चालन गरेको अर्गेनिक पसलले दुई वर्षको अवधिमा किसानको उत्पादनलाई सुनिश्चित बजार उपलब्ध गराउँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाएको छ।

२०८१ साल असार १६ गते स्थापना भएको खाडीचौरस्थित अर्गेनिक पसल नेपालकै स्थानीय सरकारद्वारा सञ्चालित पहिलो अर्गेनिक पसलका रूपमा परिचित छ। अरनिको राजमार्ग किनारमा रहेको यस पसलमा फापर, कोदो, मकै, जौको पिठो, च्याख्ला, भिर मह, घर मह, गाई, भैंसी र चौँरीको घिउ, शिलाजित, स्थानीय सिमी, राजमा, अकबरे खुर्सानी, टिमुर, सुन्तला, आलु, लसुन, प्याज, टमाटरलगायतका स्थानीय उत्पादन सुपथ मूल्यमा बिक्री गरिन्छ।

यस पसलको सबैभन्दा ठूलो विशेषता भनेको किसानले ल्याएको उत्पादन तत्काल खरिद गरी नगद भुक्तानी गर्ने व्यवस्था हो। कालिमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रले तोकेको मूल्यका आधारमा किसानलाई रकम उपलब्ध गराइने भएकाले उत्पादन बिक्रीको चिन्ता हटेको स्थानीय किसानहरू बताउँछन्।

गाउँपालिकाकी उपाध्यक्ष गीता नेपालका अनुसार अर्गेनिक पसल स्थापना गर्नुको मुख्य उद्देश्य स्थानीय किसानलाई बजारको सुनिश्चितता दिनु र विद्यालयका दिवा खाजामा स्थानीय उत्पादनको प्रयोग बढाउनु हो। गाउँपालिकाले वार्षिक करिब ७२ देखि ७५ लाख रुपैयाँ दिवा खाजामा खर्च गर्दै आएको छ। सोही रकम स्थानीय किसानबाट उत्पादित खाद्यान्न खरिदमा प्रयोग गरी विद्यालयमा कोदो, मकै, चामलको पुवा, खिर, आलु, रोटी तथा अचारजस्ता स्थानीय परिकार समावेश गरिएको छ। साथै विद्यालयमा जंक फुड पूर्ण रूपमा निषेध गरिएको गाउँपालिकाले जनाएको छ।

अर्गेनिक पसल सञ्चालन गर्दै आएका सम्राटका अनुसार सुरुवाती चरण चुनौतीपूर्ण भए पनि अहिले पसल व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। पाँच लाख रुपैयाँबाट सुरु गरिएको पसलले अहिले पाँचदेखि छ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने मासिक करिब एक लाख ५० हजार रुपैयाँ तलब वितरण भइरहेको छ। किसानले ल्याएका भुटेको मकै, गुन्द्रुक, भटमास, मुला लगायतका सबै स्थानीय उत्पादन खरिद गरी तत्काल भुक्तानी गर्ने व्यवस्थाले किसानको उत्साह बढाएको उनले बताए।

कृषिसँगै सामाजिक सुरक्षालाई पनि प्राथमिकता दिएको गाउँपालिकाले विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘अध्यक्षसँग जनता–स्वास्थ्य कार्यक्रम’ अन्तर्गत मुटुरोगीलाई निःशुल्क औषधि वितरण तथा गाउँपालिकामै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको छ।

महिलाको स्वास्थ्य र सशक्तीकरणका लागि ‘उपाध्यक्षसँग आमा बचाऔँ कार्यक्रम’ अन्तर्गत १०४ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ। त्यस्तै ‘उपाध्यक्षसँग सुत्केरी कार्यक्रम’ मार्फत सुत्केरी महिलालाई चार क्यारेट अण्डा, घिउ, हर्लिक्स तथा यातायात खर्चसमेत उपलब्ध गराइँदै आएको छ।

कृषि उत्पादनलाई अझ व्यवस्थित बनाउन गाउँपालिकाले वडागत रूपमा पकेट क्षेत्र पनि निर्धारण गरेको छ। वडा नम्बर १ मा मौरी तथा बाख्रापालन, वडा नम्बर २ मा अलैंची र अकबरे खुर्सानी, वडा नम्बर ३ मा टिमुर, वडा नम्बर ४ र ५ मा आलु तथा वडा नम्बर ६ मा कफी र सुन्तलालाई विशेष प्राथमिकता दिइएको छ।

स्थानीय उत्पादन, सुनिश्चित बजारीकरण, स्वास्थ्य सेवा, महिला सशक्तीकरण र रोजगारी सिर्जनालाई एकैसाथ अघि बढाएको त्रिपुरासुन्दरी गाउँपालिकाको यो अभ्यासले स्थानीय सरकारको प्रभावकारी भूमिकाको उदाहरण प्रस्तुत गरेको छ। किसानको उत्पादनलाई बजार, उपभोक्तालाई गुणस्तरीय अर्गेनिक खाद्यवस्तु र स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा दिने यो मोडेल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने देखिएको छ।