
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनका नाममा संघीयता, लोकतान्त्रिक मूल्य र संविधानको मूल संरचनामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संविधान समयानुकूल संशोधन हुन सक्ने भए पनि त्यसको मूल मर्म र संघीय लोकतान्त्रिक व्यवस्थामाथि आँच पुग्ने गरी गरिने परिवर्तन कांग्रेसलाई मान्य नहुने स्पष्ट पारे। संविधान निर्माण र कार्यान्वयनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै उनले अपरिपक्व आयोग गठन गरेर संशोधन प्रक्रियालाई कमजोर नबनाउन सरकारलाई आग्रह गरे।
आङ्देम्बेले प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै संसद्प्रतिको उत्तरदायित्व कमजोर भएको आरोप लगाए। उनले प्रधानमन्त्री संसद्मा जवाफदेही हुनुभन्दा सामाजिक सञ्जालमा लोकप्रिय बन्न केन्द्रित भएको टिप्पणी गर्दै लोकतान्त्रिक शासनमा उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले सरकारको निर्णय प्रक्रियामा संवाद र सहकार्यको अभाव देखिएको उल्लेख गर्दै संवैधानिक परिषद्मा सीमित सदस्यको उपस्थितिलाई बहुमतका रूपमा व्याख्या गर्ने अभ्यास संविधानको भावना विपरीत रहेको दाबी गरे।
भ्रष्टाचार नियन्त्रणको प्रसंग उठाउँदै उनले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेखित सुन तथा बैंक मौज्दातको वैधानिक स्रोतबारे संसद्मा स्पष्ट पार्न माग गरे। भ्रष्टाचारविरुद्धको अभियान विश्वसनीय बनाउन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनबाट प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्थाविना हटाइएको भन्दै उनले सरकारको आलोचना गरे। सरकारको आलोचना गरेका डम्बर तामाङलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरे। साथै, मन्त्री तथा सांसदहरूले कानुनविपरीत र हिंसाप्रेरित अभिव्यक्ति दिँदा पनि सरकारले कुनै कदम नचालेको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाए।
