काठमाडौं — साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै बन्द भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै लगानीकर्ताको मनोबल पनि कमजोर देखिएको हो।

यस दिन नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घट्दै ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ। यसअघि शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये ३४ वटाको सेयर मूल्य बढ्दा २३९ वटाको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारका क्रममा सानिगाड हाइड्रो, स्नो रिभर्स हाइड्रोपावर र कालंगा हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गरेका छन्। सानिगाड हाइड्रो र स्नो रिभर्सको सेयर मूल्य १४.९९ प्रतिशत तथा कालंगा हाइड्रोपावरको १४.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो।

उता, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेर प्रतिकित्ता ३९४ रुपैयाँमा झरेको छ। नेपाल फाइनान्सको सेयर मूल्य पनि ११.६४ प्रतिशतले घट्दै प्रतिकित्ता ५९२ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर २०८४ शीर्ष स्थानमा रह्यो। उक्त डिबेन्चरको ५३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने यसको मूल्य अघिल्लो दिनको तुलनामा २.२९ प्रतिशतले बढेको छ। सेन्ट्रल फाइनान्स १५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित दोस्रो स्थानमा रह्यो।

यस दिन कारोबारमा आएका सबै १३ समूहगत परिसूचक ओरालो लागेका छन्। तीमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३.१५ प्रतिशतले घटेको छ।