काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्माण क्षेत्रको आगत मूल्य सूचकांकले नेपालको निर्माण क्षेत्रमा लागतको दबाब बढ्दै गएको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत) मा समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतले बढी हो।
प्रतिवेदनअनुसार निर्माण लागत बढ्नुको मुख्य कारण निर्माण सामग्रीको मूल्यमा आएको उल्लेखनीय वृद्धि हो। निर्माण सामग्रीको उप–सूचकांक ५.३३ प्रतिशतले बढेर १३८.६ पुगेको छ। विशेषगरी इँटाको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। इँटा भट्टामा देखिएको आपूर्ति अवरोध र मुख्य निर्माण सिजनमा बढेको मागका कारण यसको मूल्य उच्च बिन्दुमा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
विद्युतीय तार, फलामका डन्डी तथा बिलेट र सिमेन्टको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य बढ्दा विद्युतीय तार महँगिएको हो भने फलामजन्य सामग्री र सिमेन्टको मूल्यमा पनि वृद्धि देखिएको छ। यद्यपि, घरजग्गा कारोबार सुस्ताएसँगै हुम पाइप, काठ र टायलको मूल्य भने घटेको प्रतिवेदनले जनाएको छ।
श्रम ज्यालातर्फ पनि वृद्धि कायम रहेको छ। निर्माण श्रमिकको ज्याला सूचकांक २०३.० पुगेको छ, जसले आधार वर्ष २०७१/७२ को तुलनामा औसत ज्याला दोब्बरभन्दा बढी भएको संकेत गर्छ। वार्षिक आधारमा चित्रकारहरूको ज्यालामा सबैभन्दा बढी वृद्धि भएको छ भने साधारण श्रमिकको ज्यालामा पनि उल्लेखनीय सुधार देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मुख्य निर्माण सिजनमा सामग्रीको उच्च माग, आर्थिक वर्षको अन्त्यतिर बढ्ने सरकारी पुँजीगत खर्च तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिले निर्माण लागत बढाउन भूमिका खेलेका छन्। विशेषगरी अमेरिकी व्यापार नीतिसम्बन्धी अन्योल र भारतीय बजारमा फलामको मूल्य बढ्नुको असर नेपाली बजारमा पनि परेको उल्लेख गरिएको छ।
निर्माण लागतमा भएको यो वृद्धिले चालु पूर्वाधार आयोजना र निर्माण ठेक्काको लागत बढ्न सक्ने भएकाले मूल्य समायोजन आवश्यक पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ। साथै, इँटा र विद्युतीय तारको मूल्य नियन्त्रणका लागि आपूर्ति व्यवस्थापनमा सुधार गर्न तथा आयोजना योजना बनाउँदा बढ्दो लागतलाई ध्यानमा राख्न राष्ट्रिय तथ्यांक कार्यालयले सुझाव दिएको छ।

