काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका मासातो कान्डाबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको आर्थिक विकास, सुशासन, पूर्वाधार निर्माण तथा द्विपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार तथा दिगो पूर्वाधार निर्माणमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको बताइएको छ।
एडीबी अध्यक्ष कान्डाले नेपालको विकास प्राथमिकतामा बैंकको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए। जापानका पूर्व केन्द्रीय बैंक अधिकारीसमेत रहेका उनी विकासोन्मुख राष्ट्रहरूको आर्थिक रूपान्तरण र अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थाका जानकारका रूपमा परिचित छन्।
नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकासमा लामो समयदेखि रणनीतिक साझेदार रहँदै आएको एडीबीसँग सरकारले सोमबार मात्रै करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त रकम नेपालको प्राथमिकतामा रहेका विकास आयोजना, पूर्वाधार विस्तार तथा आर्थिक स्थायित्व सुदृढीकरणमा परिचालन गरिने जनाइएको छ।
यसअघि एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गरी नेपालको वर्तमान आर्थिक अवस्था, सुधारका योजना तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।

