काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएकोप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युएई सरकारको यस निर्णयलाई नेपाल–युएईबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सद्भावको प्रतीकका रूपमा व्याख्या गरेको छ। मन्त्रालयले उक्त कदमले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार आबुधाबीस्थित नेपाली दूतावासको अनुरोधपछि युएई सरकारले नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गर्ने निर्णय गरेको हो।

शाही आममाफी प्राप्त गरेका नेपाली नागरिकहरूले युएईमा आफूविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँको कानुनअनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन्।

नेपाल सरकारले आममाफी प्रदान गरेकोमा युएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको सहकार्य र मित्रवत सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेको छ।