काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता भएको निष्कर्ष निकाल्दै नगरपालिकाका मेयरसहित चार प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकामध्ये गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि राधेश्याम शाह रहेका छन्।

आयोगका अनुसार ठेक्का सम्झौतामा तोकिएका सर्तविपरीत न्यून रकम स्वीकार गरिएको, झुटा विवरणका आधारमा निर्णय प्रक्रिया अघि बढाइएको तथा स्वीकृत मापदण्डभन्दा बढी गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिइएको आरोपमा मुद्दा दर्ता गरिएको हो।

अनुसन्धानबाट सार्वजनिक सम्पत्तिमा ठूलो आर्थिक क्षति पुगेको निष्कर्ष निकाल्दै आयोगले प्रतिवादीहरूबाट जनही दुई करोड ७५ लाख ६६ हजार रुपैयाँ बिगो असुल, सोही बराबर जरिवाना तथा प्रचलित कानुनबमोजिम कैद सजायको माग गरेको छ।

विशेष अदालतले अब मुद्दामाथि सुनुवाइ गर्दै आरोपको कानुनी परीक्षण गर्नेछ।