काठमाडौं — पूर्वप्रधानमन्त्री तथा झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको परराष्ट्र नीतिप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

मंगलबार जारी प्रेस नोटमार्फत नेता खनालले सरकारले नेपालको स्थापित ‘एक चीन नीति’ विपरीत कदम चालेको आरोप लगाएका छन्। उनले उक्त निर्णयले नेपाल–चीनबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धमा असर पर्ने दाबी गरेका छन्।

प्रेस नोटमा खनालले दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको विषय उल्लेख गर्दै त्यसलाई नेपालको परराष्ट्र नीतिसँग असंगत र राष्ट्रहितविपरीत कदमको संज्ञा दिएका छन्। साथै, उनले नेपाललाई विदेशी शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको केन्द्र बन्न नदिन सरकार जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।