काठमाडौं — नेकपा (एमाले)का युवाहरूले पार्टीको रुपान्तरण र पुनर्संरचनासम्बन्धी सञ्चालन गरेको मत सर्वेक्षणमा वर्तमान नेतृत्व परिवर्तनको पक्षमा उल्लेख्य मत देखिएको छ।
गुगल फर्ममार्फत १८ वटा प्रश्न समेटेर गरिएको सर्वेक्षणमा सहभागीमध्ये ८७.६ प्रतिशतले वर्तमान नेतृत्व (केपी शर्मा ओलीसहित) परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। त्यस्तै, ९१.४ प्रतिशतले एमालेलाई संगठनात्मक रूपमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
अभियानका संयोजक गजेन्द्र थपलियाका अनुसार सर्वेक्षणमा नेपालसहित १४ देशबाट सहभागीहरूले आफ्नो धारणा दिएका थिए। सर्वेक्षणको प्रतिवेदन पार्टीका महासचिव शंकर पोखरेललाई बुझाइएको पनि उनले जानकारी दिए।
अभियान पक्षले सर्वेक्षणको उद्देश्य पार्टीभित्र देखिएका चुनौती, कार्यकर्ताको धारणा र आगामी संगठनात्मक सुधारका लागि सुझाव संकलन गर्नु रहेको जनाएको छ। सर्वेक्षणको नतिजापछि एमालेभित्र नेतृत्व, संगठन र कार्यशैलीबारे थप बहस हुने अपेक्षा गरिएको छ।

