काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था अत्यन्तै गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले जुनसुकै बेला थप जटिलता उत्पन्न हुन सक्ने जोखिम रहेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वीर अस्पतालका चिकित्सकहरूले गणेशको शरीरको करिब ५५ प्रतिशत भाग जलेको, अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेको र त्यसकै कारण उपचार निकै चुनौतीपूर्ण बनेको जानकारी दिए। उनी हाल बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
अस्पतालका अनुसार बिरामीलाई बचाउन सबै सम्भावित उपचार विधि अपनाइएको छ। उपचारमा प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली निरन्तर खटिएको छ।
गणेश नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न नसकिएको अस्पतालले स्पष्ट पारेको छ।
गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी उनलाई वीर अस्पताल पुर्याएका थिए, जहाँ उनको सघन उपचार जारी छ।

