CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। वीर अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको हो।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार अस्पतालले नेपालीलाई मृत घोषणा गरेको छ। बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ६५ देखि ७० प्रतिशत भाग जलेको थियो। उनको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा प्लास्टिक सर्जन, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेटिस्ट तथा नर्सिङ सेवासहित २१ सदस्यीय चिकित्सक टोली खटिएको थियो। उपचारका सबै प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। आत्मदाह प्रयाससँग सम्बन्धित घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।