काठमाडौ – मिटरब्याज पीडितहरूले जनकपुरबाट सुरु गरेको ‘पैदल न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ। असार २५ गतेदेखि सुरु भएको पदयात्रा आइतबार लालबन्दीबाट अगाडि बढ्दै राजधानी काठमाडौँतर्फ अघि बढेको हो।
आन्दोलनमा सहभागीहरूले राज्यको ध्यान आफ्ना समस्या र मागतर्फ आकर्षित गर्न तथा विगतमा भएका सहमतिहरू कार्यान्वयन गराउन पदयात्रा जारी राखिएको बताएका छन्। उनीहरूका अनुसार माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिइएको छ।
मार्चमा सहभागी सयौँ पीडित तथा उद्यमीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर न्याय र अधिकारको माग गरिरहेका छन्। दैनिक करिब २० देखि २६ किलोमिटर पैदल हिँड्दै उनीहरू राजधानी पुग्ने तयारीमा छन्।
आयोजकहरूले सरकारले यसअघि पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेकाले पुनः दबाब सिर्जना गर्न काठमाडौँसम्मको पदयात्रा आवश्यक परेको बताएका छन्। उनीहरूको लक्ष्य करिब एक साताभित्र काठमाडौँ पुगेर सम्बन्धित निकायलाई आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराउनु रहेको छ।

