काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण गरेको घोषणा गरेपछि इरानले बहराइन, कुवेत, कतार, जोर्डन, ओमान तथा संयुक्त अरब इमिरेट्स (यूएई) लक्षित मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार, इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले ओमानको दुक्म बन्दरगाहस्थित अमेरिकी सेनाले प्रयोग गर्ने लजिस्टिक र इन्धन आपूर्ति केन्द्रमा आकस्मिक आक्रमण गरेको जनाएको छ। साथै, कतारस्थित अमेरिकी अल उदेद वायुसेना अखडामा ब्यालिस्टिक मिसाइल प्रहार गरी विमान मर्मत तथा कमाण्ड केन्द्रमा क्षति पुर्याएको दाबी पनि गरिएको छ।
यता, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले भने आफ्ना वायु प्रतिरक्षा प्रणालीले इरानी मिसाइल तथा ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको बताएका छन्।
कतारको रक्षा मन्त्रालयले आफ्नो भूभागमा कुनै ठूलो क्षति नभएको जनाएको छ भने यूएई र बहराइनले नागरिकलाई घरभित्रै बस्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।
यसबीच अमेरिकाले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ। आईआरजीसीले भने जलमार्गका नियम उल्लंघन गर्ने अर्को जहाज नियन्त्रणमा लिएको दाबी गर्दै अमेरिका र इजरायलको सैन्य कारबाही जारी रहे थप कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
इरानले खाडी राष्ट्रहरूले अमेरिकी सेनालाई सहयोग गरिरहेको आरोप लगाए पनि ती देशहरूले आफूहरू अमेरिका–इरान द्वन्द्वमा कुनै पक्षमा नरहेको स्पष्ट पारेका छन्।
मध्यपूर्वमा बढ्दो तनावसँगै होर्मुज जलमार्गको सुरक्षा, क्षेत्रीय स्थिरता र विश्व ऊर्जा आपूर्तिमाथि गम्भीर चिन्ता बढेको छ।

