काठमाडौ । धान रोपाइँको मुख्य सिजनमै सुदूरपश्चिम प्रदेशमा रासायनिक मल, विशेषगरी डिएपि (DAP) को चरम अभाव भएपछि हजारौँ किसान मलविनै रोपाइँ गर्न बाध्य भएका छन्। सहकारीदेखि सरकारी बिक्री केन्द्रसम्म धाउँदा पनि मल नपाएपछि किसानहरू निराश बनेका छन्।
कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार यस वर्ष डिएपि मलको आयात अपेक्षाअनुसार हुन नसक्दा आपूर्ति प्रभावित भएको हो। अमेरिका–इरान युद्ध, ढुवानी अवरोध तथा आपूर्ति शृंखलामा आएको समस्याका कारण मल भित्रिन ढिलाइ भएको सम्बन्धित निकायले जनाएको छ।
कृषि सामग्री केन्द्रका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार सुदूरपश्चिममा धान खेतीका लागि करिब ८ हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने भए पनि हाल मौज्दात अत्यन्त न्यून छ। साल्ट ट्रेडिङले पनि भैरहवाबाट थप ५ सय मेट्रिकटन मल ल्याएर सहकारीमार्फत वितरण सुरु गरेको जनाएको छ।
यद्यपि, धान गोड्ने समयमा आवश्यक पर्ने युरिया मलको अभाव नहुने दाबी वितरण गर्ने निकायहरूको छ। उनीहरूका अनुसार हाल मौज्दात रहेको युरियासँगै साउनको पहिलो साताभित्र थप आपूर्ति हुने भएकाले किसानले युरियाको समस्या भोग्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरिएको छ।

