काठमाडौं। काभ्रेपलाञ्चोकको रोशी खोला जलाधार क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा भइरहेपछि सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनाअनुसार रोशी खोलामा पानीको बहाव अचानक बढ्न सक्ने तथा राजमार्गका जोखिमयुक्त खण्डमा यात्रा असुरक्षित हुन सक्ने भएकाले यात्रु र सवारी साधनलाई सुरक्षित स्थानमा रोकिएको हो।
गत वर्षको बाढीपहिरोले बीपी राजमार्गका रोशी खोला आसपासका सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसैले यस वर्ष सामान्य वर्षाका बेला पनि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले पूर्वसतर्कता अपनाएको जनाएको छ।
हालसम्म सडकमा ठूलो पहिरो खसेको वा यातायात अवरुद्ध हुने किसिमको क्षति नभए पनि मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ। वर्षा कम भई नदीको जलसतह सामान्य भएपछि सडकको निरीक्षण गरी अर्को सूचना जारी गर्दै यातायात सञ्चालन गरिनेछ।
काठमाडौंबाट पूर्वी नेपाल तथा तराईतर्फ गइरहेका र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारी साधनहरूलाई काभ्रेका विभिन्न सुरक्षित स्थानमा रोकिएको छ।
प्रहरीले वर्षायाममा पहाडी तथा नदी किनारका सडकमार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन, यात्रा अघि सडकको अवस्था बुझ्न तथा आवश्यक जानकारीका लागि नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न सबै यात्रु तथा चालकलाई आग्रह गरेको छ।