काठमाडौं — नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध कपिलवस्तु प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित सांसद साहसहित कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साह तथा १५–२० जनाको समूहले शर्माको निवासमै पुगेर आक्रमण गरेको आरोप छ। घटनाको भिडियो सार्वजनिक भएपछि शर्माले प्रहरीमा जाहेरी दिएका थिए।
उक्त जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गर्दै सांसद साहविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउ पुर्जी जारी भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।