काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतलाई लिएर विवाद चर्किएको छ। नेपाल शिक्षक महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक समुदाय र शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै तत्काल बन्द गर्न माग गरेको हो।

महासंघका अनुसार गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको छ, जसले सम्पूर्ण शिक्षक समुदायको सम्मानमा गम्भीर चोट पुर्‍याएको छ। महासंघले यस्तो सामग्री चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

महासंघले गीत नहटाइए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र कलाकारहरूले लिनुपर्ने चेतावनी पनि दिएको छ।
दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय रहेको छ। भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मास्टर्नी’ चलचित्रको निर्माण तथा कथा प्रियंका कार्कीकै हो भने निर्देशन बंगाली निर्देशक सुभेन्दु घोषले गरेका छन्।