काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा आरोपित दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक साताको निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै धरौटी तोकेको हो।
अदालतले बिमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवाललाई १ करोड ५० लाख र भट्टलाई १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिइएको छ। हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग जोडिएको अर्को मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यद्यपि, जिल्ला अदालतबाट धरौटीमा रिहा हुने आदेश आए पनि उनीहरू तत्काल थुनामुक्त हुने छैनन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकाले दुवै जना हाल न्यायिक हिरासतमै रहनेछन्।

