काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार हत्याकाण्डबारे नयाँ टिप्पणी गरेका छन्। शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दाबी गरे।
ओलीले विश्वव्यापी रूपमा फैलाइएको ‘दीपेन्द्रले आफ्नै परिवारको हत्या गरेर आत्महत्या गरेका हुन्’ भन्ने कथनमा विश्वास गर्ने आधार नरहेको बताए। उनका अनुसार घटनालाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर पूर्वनिर्मित (रेडिमेड) कथा बनाइएको थियो।
उनले दरबार हत्याकाण्डको वास्तविक सत्य अझै सार्वजनिक हुन नसकेको उल्लेख गर्दै घटनाबारे निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक रहेको धारणा राखे।
२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका अधिकांश सदस्यको हत्या भएको थियो। उक्त घटनाबारे विभिन्न समयमा अनेक अड्कलबाजी र विवादास्पद अभिव्यक्तिहरू सार्वजनिक हुँदै आएका छन्।
ओलीको पछिल्लो अभिव्यक्तिले दरबार हत्याकाण्डबारे पुनः राजनीतिक तथा सार्वजनिक बहसलाई तातेको छ।

