काठमाडौं । देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै आज अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर बदली भएको छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा वाग्मती, गण्डकी र मधेस प्रदेशका एकाध क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली रहने, पहाडी तथा तराईका अधिकांश क्षेत्रमा वर्षा जारी रहने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोसी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै नदी किनार, पहिरो प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।