काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसका लागि स्वीकार्य नभएको बताएका छन्।

ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै थापाले तीन दलीय सरकार गठनले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने र जनताले दिएको जनादेशको भावना विपरीत हुने बताए।

उनले नेपाली कांग्रेस अब केवल सत्ता प्राप्तिका लागि सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट पार्दै विगतमा भएका राजनीतिक कमजोरीबाट पार्टीले पाठ सिकेको उल्लेख गरे। उनका अनुसार सत्तामुखी राजनीतिले देशको राजनीतिक स्थिरता, लोकतान्त्रिक अभ्यास र दलहरूको विश्वसनीयतामा नकारात्मक असर पारेको छ।

थापाले चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्को दलसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिका नै कमजोर बनाएको टिप्पणी गरे। उनले लोकतन्त्रलाई सुदृढ बनाउन जनादेशको सम्मान गर्दै सिद्धान्त, नीति र मूल्यमा आधारित राजनीति आवश्यक रहेको बताए।

उनले कांग्रेस सरकारमा सहभागी हुनु मात्र उद्देश्य नभएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने दिशामा पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याए।